पाँच दशक पुरानो घटनाको सम्झना
जीवनका
पानाहरू पल्टाउंदै जाँदा सम्झनामा आएको पचास बर्ष पुरानो कक्षा १० मा पढ्दै गर्दाको
२०२७ सालको घटना बारे लेख्न मन लाग्यो । नौ कक्षामा पढ्दा २०२६ मा स्काउट बनेर त्यसको
तालीम लिएको थिएँ भने दश कक्षामा पढ्दा विद्यार्थी युनियनको सचिवमा निर्वाचित भएको
थिएँ । अध्यक्षमा चुनिनु हुने मित्र बाबुराम भट्टराईज्यू पछि गएर इञ्जिनियरिङ्ग अध्ययन
संस्थानको डीन पनि हुनु भएको थियो । अपशोच यि मित्रको निधन ५४ वर्षको कलिलो उमेरमै
भयो । विद्यार्थी युनियनमा छँदा हाजिरी जवाफ प्रतियोगिता, अन्ताक्षरी र कविता प्रतियोगिता
(साहित्य गोष्ठी) गराउने काम निकै गरियो । युनियनमा छँदाको एक रोचक प्रसंग । तानसेनको
मोहन कन्या माध्यमिक विद्यालय (जसलाई कन्या स्कूल भन्ने गरिन्थ्यो) मा पढाउने शिक्षक
(उहांले पछि निजामती सेवामा प्रवेश गर्नु भयो त अहिले निधन भई सकेको) लाई तत्कालीन
प्रमुख जिल्ला अधिकारीका आफन्त (भतिजा) ले हातपात गरेछन् । विद्यालयको वार्षिकोत्सवका
लागि सांस्कृतिक कार्यक्रमको रिहर्सल भइरहेको ठाउँमा अनाधिकृत रूपमा प्रवेश गर्न लाग्दा
सम्बन्धित शिक्षकले अहिले यहाँ प्रवेश गर्ने होइन भनि बाहिर जान अनुरोध गरेको बदला
स्वरूप भोलीपल्ट तानसेनको बस स्टपमा उनीमाथि हातपात गरेछन् । सो विद्यालयको युनियनको
अध्यक्ष विद्यालयहरूमा गइ त्यस्तो हातपातको प्रतिकार गर्न सहयोग गर्न अनुरोध गरिन ।
अन्य विद्यालय, कलेज र हाम्रो विद्यालयबाट केही विद्यार्थी प्र.जि.अ. कार्यालय अगाडि
विरोध जनाउन गयौं र माफी माग्नुपर्ने माग राख्यौं । विरोधमा आएका विद्यार्थीको संख्या
कम देखेर सम्बन्धित पक्षले मागको बेवास्ता गरे । कलेजमा बिहान पढाई हुने र प्राय: जसो
विद्यार्थी कुनै न कुनै काममा लागेको हुँदा कलेजबाट विरोधमा जानेको संख्या ६/८ जना
भन्दा बढी भएन । अब के गर्ने भन्ने कुरा उठ्यो र विद्यालयहरूमा गइ सबै विद्यार्थी ल्याउने
सहमति भयो र म सरासर आफ्नो स्कूलमा गइ सबै साथीहरूलाई विरोध जुलुसमा जान अनुरोध गरें
। त्यसदिन प्रधानाध्यापक बिदामा भएकाले निमित्त प्रधानाध्यापकले मलाई सबै विद्यार्थी
लैजाने भए उनीहरूलाई कहीं कतै चोटपटक लागेमा म जिम्मेवार हुनेछु भनि कबुलियत गरेपछि
मात्र लैजान पाइन्छ भन्नुभयो । उहाँले भने अनुसार सही गरिदिए पछि विद्यार्थीलाई जाने
अनुमति दिनुभयो । सबै साथीहरूलाई लिएर गएँ । त्यसरी ठूलो संख्यामा विद्यार्थी विरोधमा
आएको देखिएपछि प्र.जि.अ.ले माफी माग्न पठाएछन् र हाम्रो माग पूरा भएको ठानी हामी आफ्नो
बाटो लाग्यौं ।
विद्यालयमा पर्सिपल्ट प्रधानाध्यापकले
अध्यक्ष र मलाई बोलाएर अस्तिको घटनाको लागि तिमीहरूले माफी माग्नु पर्छ प्र.जि.अ. रिसाएका
छन् नराम्रो हुन सक्दछ भनेर दवाब दिन थाल्नु भयो । हामीले माफी माग्नु पर्ने कुनै काम
नगरेको हाम्रो विरोध उहाँ प्रति लक्षित नभएको र हामीले माफी माग्नु पर्ने कारण नभएको
भन्यौं । उहांले दोस्रो पटक बोलाएर हामीले माफी नमागे विद्यालयलाई समेत असर पर्न सक्ने
भने पछि हामी केही लचक हुनै पर्यो । त्यसपछि उहाँले मध्यमार्ग समातेर प्र.जि.अ.कहाँ
गइ विद्यार्थीहरू विरोधका लागि होइन के भएको रहेछ भनि हेर्न आएको रमिते मात्र भएको
भनेर भन्नु भनि सल्लाह दिनु भयो । विद्यालय समय पछि हामी दुबै जना हेडसरले भने अनुसार
तानसेन दरबार अगाडि पुग्यौं । त्यहां आकाशबाणी कार्यालय् अगाडि गोलो खरले छाएको पाटीमा
प्र. जि. अ. र अरु कार्यालयका हाकिम बस्नु भएको थियो । उहाँले प्र.जि.अ.नेर पुगेर के
भन्नु भयो कुन्नि हामीलाई बोलाइयो । हामीले आफ्नो कुरा पुरा भन्न नपाउँदै तिमीहरूको
एकता राम्रो रहेछ, तिमीहरूले भनेपछि मान्दा रहेछन् मलाई राम्रो लाग्यो भनेर घटनालाई
सहज निकास दिनुभयो । हामीले माफी माग्न वा थप कुरा केही भन्नै परेन । त्यसबाट हामीलाई
लाग्यो प्रधानाध्यापक त्यसै सशंकित हुनु भएको रहेछ प्र.जि.अ.लाई त्यो शान्त विरोध केही
लागेको रहेनछ । प्र.जि.अ.सँग त्यसबेला भएको परिचय पछि उपयोगी भयो । एस.एल.सी.परीक्षा
नजिकै आइपुग्दा बजारमा मट्टीतेलको अभाव भएको थियो । जिल्ला कार्यालयबाट १ लिटरका दरले
कुपन वितरण गरिन्थ्यो । म पनि कुपन लिन गएको थिएँ । प्र.जि.अ.सँग भेट भयो । नमस्कार
गरे पछि उहांले भित्र आउन भन्दै कार्यालय पुगे पछि कारण सोध्नु भयो । मैले तेलको कुपन
लिन आएको भने पछि उहांले आफैले ४ लिटर दिनु भनेर लेखेको कुपन दिएर ल राम्रोसँग पढ्नु
कहां पढ्न छाडेर कुपन लिन आइरहने भन्नु भयो । कुपनको झन्झट पार भयो ।
मलाई अहिले पनि त्यो घटना सम्झदा
प्र. जि. अ. को हामीलाई माफी मगाउने मनसाय थियो वा हेडसर को मनको डर थियो होला भन्ने
लाग्छ । प्र जि अ को मनसाय भए केही सोध्नु पर्नेमा केही नै नभनेकाले उहांकै मनको डर
रहेछ भन्ने लाग्यो । त्यस्तै निमित्त प्रधानाध्यापकले मलाई कागज गराएर विद्यार्थी लिएर
जान दिनु उचित थियो ? मैले पनि उहांले भने जस्तै सही गर्न हुन्थ्यो ? तर संयोगबस कसैलाई
केही भएन, मैले काम गरेको देखियो ।
No comments:
Post a Comment