Friday, September 25, 2020

 

पाँच दशक पुरानो घटनाको सम्झना

जीवनका पानाहरू पल्टाउंदै जाँदा सम्झनामा आएको पचास बर्ष पुरानो कक्षा १० मा पढ्दै गर्दाको २०२७ सालको घटना बारे लेख्न मन लाग्यो । नौ कक्षामा पढ्दा २०२६ मा स्काउट बनेर त्यसको तालीम लिएको थिएँ भने दश कक्षामा पढ्दा विद्यार्थी युनियनको सचिवमा निर्वाचित भएको थिएँ । अध्यक्षमा चुनिनु हुने मित्र बाबुराम भट्टराईज्यू पछि गएर इञ्जिनियरिङ्ग अध्ययन संस्थानको डीन पनि हुनु भएको थियो । अपशोच यि मित्रको निधन ५४ वर्षको कलिलो उमेरमै भयो । विद्यार्थी युनियनमा छँदा हाजिरी जवाफ प्रतियोगिता, अन्ताक्षरी र कविता प्रतियोगिता (साहित्य गोष्ठी) गराउने काम निकै गरियो । युनियनमा छँदाको एक रोचक प्रसंग । तानसेनको मोहन कन्या माध्यमिक विद्यालय (जसलाई कन्या स्कूल भन्ने गरिन्थ्यो) मा पढाउने शिक्षक (उहांले पछि निजामती सेवामा प्रवेश गर्नु भयो त अहिले निधन भई सकेको) लाई तत्कालीन प्रमुख जिल्ला अधिकारीका आफन्त (भतिजा) ले हातपात गरेछन् । विद्यालयको वार्षिकोत्सवका लागि सांस्कृतिक कार्यक्रमको रिहर्सल भइरहेको ठाउँमा अनाधिकृत रूपमा प्रवेश गर्न लाग्दा सम्बन्धित शिक्षकले अहिले यहाँ प्रवेश गर्ने होइन भनि बाहिर जान अनुरोध गरेको बदला स्वरूप भोलीपल्ट तानसेनको बस स्टपमा उनीमाथि हातपात गरेछन् । सो विद्यालयको युनियनको अध्यक्ष विद्यालयहरूमा गइ त्यस्तो हातपातको प्रतिकार गर्न सहयोग गर्न अनुरोध गरिन । अन्य विद्यालय, कलेज र हाम्रो विद्यालयबाट केही विद्यार्थी प्र.जि.अ. कार्यालय अगाडि विरोध जनाउन गयौं र माफी माग्नुपर्ने माग राख्यौं । विरोधमा आएका विद्यार्थीको संख्या कम देखेर सम्बन्धित पक्षले मागको बेवास्ता गरे । कलेजमा बिहान पढाई हुने र प्राय: जसो विद्यार्थी कुनै न कुनै काममा लागेको हुँदा कलेजबाट विरोधमा जानेको संख्या ६/८ जना भन्दा बढी भएन । अब के गर्ने भन्ने कुरा उठ्यो र विद्यालयहरूमा गइ सबै विद्यार्थी ल्याउने सहमति भयो र म सरासर आफ्नो स्कूलमा गइ सबै साथीहरूलाई विरोध जुलुसमा जान अनुरोध गरें । त्यसदिन प्रधानाध्यापक बिदामा भएकाले निमित्त प्रधानाध्यापकले मलाई सबै विद्यार्थी लैजाने भए उनीहरूलाई कहीं कतै चोटपटक लागेमा म जिम्मेवार हुनेछु भनि कबुलियत गरेपछि मात्र लैजान पाइन्छ भन्नुभयो । उहाँले भने अनुसार सही गरिदिए पछि विद्यार्थीलाई जाने अनुमति दिनुभयो । सबै साथीहरूलाई लिएर गएँ । त्यसरी ठूलो संख्यामा विद्यार्थी विरोधमा आएको देखिएपछि प्र.जि.अ.ले माफी माग्न पठाएछन् र हाम्रो माग पूरा भएको ठानी हामी आफ्नो बाटो लाग्यौं ।

विद्यालयमा पर्सिपल्ट प्रधानाध्यापकले अध्यक्ष र मलाई बोलाएर अस्तिको घटनाको लागि तिमीहरूले माफी माग्नु पर्छ प्र.जि.अ. रिसाएका छन् नराम्रो हुन सक्दछ भनेर दवाब दिन थाल्नु भयो । हामीले माफी माग्नु पर्ने कुनै काम नगरेको हाम्रो विरोध उहाँ प्रति लक्षित नभएको र हामीले माफी माग्नु पर्ने कारण नभएको भन्यौं । उहांले दोस्रो पटक बोलाएर हामीले माफी नमागे विद्यालयलाई समेत असर पर्न सक्ने भने पछि हामी केही लचक हुनै पर्‍यो । त्यसपछि उहाँले मध्यमार्ग समातेर प्र.जि.अ.कहाँ गइ विद्यार्थीहरू विरोधका लागि होइन के भएको रहेछ भनि हेर्न आएको रमिते मात्र भएको भनेर भन्नु भनि सल्लाह दिनु भयो । विद्यालय समय पछि हामी दुबै जना हेडसरले भने अनुसार तानसेन दरबार अगाडि पुग्यौं । त्यहां आकाशबाणी कार्यालय् अगाडि गोलो खरले छाएको पाटीमा प्र. जि. अ. र अरु कार्यालयका हाकिम बस्नु भएको थियो । उहाँले प्र.जि.अ.नेर पुगेर के भन्नु भयो कुन्नि हामीलाई बोलाइयो । हामीले आफ्नो कुरा पुरा भन्न नपाउँदै तिमीहरूको एकता राम्रो रहेछ, तिमीहरूले भनेपछि मान्दा रहेछन् मलाई राम्रो लाग्यो भनेर घटनालाई सहज निकास दिनुभयो । हामीले माफी माग्न वा थप कुरा केही भन्नै परेन । त्यसबाट हामीलाई लाग्यो प्रधानाध्यापक त्यसै सशंकित हुनु भएको रहेछ प्र.जि.अ.लाई त्यो शान्त विरोध केही लागेको रहेनछ । प्र.जि.अ.सँग त्यसबेला भएको परिचय पछि उपयोगी भयो । एस.एल.सी.परीक्षा नजिकै आइपुग्दा बजारमा मट्टीतेलको अभाव भएको थियो । जिल्ला कार्यालयबाट १ लिटरका दरले कुपन वितरण गरिन्थ्यो । म पनि कुपन लिन गएको थिएँ । प्र.जि.अ.सँग भेट भयो । नमस्कार गरे पछि उहांले भित्र आउन भन्दै कार्यालय पुगे पछि कारण सोध्नु भयो । मैले तेलको कुपन लिन आएको भने पछि उहांले आफैले ४ लिटर दिनु भनेर लेखेको कुपन दिएर ल राम्रोसँग पढ्नु कहां पढ्न छाडेर कुपन लिन आइरहने भन्नु भयो । कुपनको झन्झट पार भयो ।

मलाई अहिले पनि त्यो घटना सम्झदा प्र. जि. अ. को हामीलाई माफी मगाउने मनसाय थियो वा हेडसर को मनको डर थियो होला भन्ने लाग्छ । प्र जि अ को मनसाय भए केही सोध्नु पर्नेमा केही नै नभनेकाले उहांकै मनको डर रहेछ भन्ने लाग्यो । त्यस्तै निमित्त प्रधानाध्यापकले मलाई कागज गराएर विद्यार्थी लिएर जान दिनु उचित थियो ? मैले पनि उहांले भने जस्तै सही गर्न हुन्थ्यो ? तर संयोगबस कसैलाई केही भएन, मैले काम गरेको देखियो ।

 

जिज्ञासा

(१)      एक जनाको महत्वाकांक्षा पुरा गरी दिन लोकतन्त्रको मान्यता र जनताको भावनालाई पुरै बेवास्ता गरी निर्वाचित हुन नसकेकालाई संसद लैजानु पर्छ भनेर लाग्ने सीमित नेताहरूको सोचलाई के नाम दिन उपयुक्त होला ?

(२)      प्रतिनिधि सभामा २७५, प्रदेश सभामा त्यसको दोब्बर (५५०) र राष्ट्रिय सभामा ५६ गरी ८८१ पद हरू राजनीतिमा लाग्नेहरू लाई हुँदा हुँदै पनि देशको लागि अमुल्य योगदान दिने गैर राजनैतिक व्यक्तित्वलाई राष्ट्रिय सभाको जम्मा ३ स्थान दिन पनि मन नपलाउने र राजनीति गर्ने बाहेक अरुलाई केही नदेख्ने मानसिकता लाई के भन्ने होला ?

 

अन्तरराष्ट्रिय शान्ति दिवस

आज (२१ सेप्तेम्बर) अन्तरराष्ट्रिय शान्ति दिवसको अवसरमा सवैलाई हार्दिक अभिबादन गर्दछु संयुक्त राष्ट्र संघको उद्देश्यहरू मध्ये राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा शान्ति कायम गर्नु एक उद्देश्य हो राष्ट्र संघीय शैक्षिक, वैज्ञानीक तथा सांस्कृतिक संगठनको विधानको प्रस्तावनामा उल्लेख भएको युद्धको प्रारम्भ मानिसको मनमा हुने भएकाले त्यसको प्रतिरक्षा पनि मनमा नै हुनु पर्दछ (Since wars begin in the minds of men, it is in the minds of men that the defences of peace must be constructed) भन्ने विचारको  सम्मान र आफ्नो उद्देश्यमा जोड दिंदै संयुक्त राष्ट्र संघको ३६ सौं महासभाले सन १९८१ (A/RES/36/67, 30 November 1981) मा हरेक बर्ष महासभा शुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मगलबारलाई अन्तरराष्ट्रिय शान्ति दिवसको रुपमा मनाउन आव्हान गरेको थियो । तर ५५ औं महासभाले सेप्टेम्बर को तेस्रो मंगलबार को सट्टा २१ सेप्टेम्बरलाई अन्तर राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने निर्णय  (A/RES/55/282, 28 Septembar 2001) गरेको थियो । यस बर्षको अन्तरराष्ट्रिय शान्ति दिवसको नारा शान्तिलाई साथमा आकार दिउं (Shaping Peace Together) रहेको छ । इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस को प्रकाशन ग्लोबल पीस इण्डेक्स, २०१९ (Global Peace Index, 2019) मा १६३ देशहरू समावेश गरिएकोमा आइसल्याण्ड र न्युजील्याण्ड क्रमश: १ र २ नम्बरमा छन् भने नेपाल ७६ औं नम्बरमा छ । यसमा संयुक्त राज्य अमेरिका १२८ र भारत १४१ नम्बरमा रहेको देखिन्छ ।

 सामाजिक सेवा दिवसको अवसरमा हार्दिक अभिबादन

आज (असोज ६) सामाजिक सेवा दिवसको अवसरमा आफुलाई निस्वार्थ भावले सामाजिक सेवामा समर्पित गर्नु हुने सम्पूर्ण समाजसेवी र यस्तो पुनीत कार्यमा सहयोग गर्नु हुने उदार र परोपकारी मन भएका सम्पूर्ण बुवा, आमा, दाजु, भाई, दिदी, बहिनीहरूमा हार्दिक अभिबादन गर्दछु । सामाजिक सेवा कहिले देखि प्रारम्भ भयो भनेर विचार गर्दा मानव जातिको संगठित बसोबास संगै  समाजका सम्पन्न र बलियाले विपन्न र कमजोरलाई सहयोग गर्नु पर्छ भन्ने भावनाको उद्गम भएको देखिन्छ । मानवीय र प्राकृतिक कारणबाट अल्पकाल र दीर्घकालीन रुपमा कठीन अवस्थामा पर्नु भएकालाई गास, बास, कपास, स्वास्थ्य उपचार र शिक्षाको प्रवन्ध दिलाई मानवोचित जीवन निर्वाह गर्ने अवसर उपलव्ध गराउनु सामाजिक सेवाको मुख्य उद्देश्य हो ।

कोभिड १९ को कारणबाट आर्थिक कठिनाईमा पर्नु भएका र बाढी पैरोको कारणबाट आफ्नो थात थलो गुमाउनु भएका नेपालीहरूलाई खुला मनले आर्थिक तथा खाद्य सामग्री उपलव्ध गराइ भौतिक साधन सहयोग गर्नु हुने सवै प्रशंसाका पात्र हुनुहुन्छ ।

सामाजिक सेवाका लागि किन सहयोग गर्नु पर्दछ भन्ने कुरा प्राय: सवै सचेत वर्गलाई स्पश्ट नै छ । सवै धर्ममा सक्नेले नसक्ने लाई सहयोग गर्नु पर्ने कुरालाई महत्व दिएको पाईन्छ । हामी सवै आफ्नो जीवन सार्थक होस भन्ने चाहन्छौं । तर सार्थकता के मा भन्ने सम्बन्धमा कहीं पढेको निम्न विचार उपयुक्त लागेको हुँदा उल्लेख गर्न चाहन्छु ।

जीवनको सार्थकता आर्थिक दृष्‍टिले सम्पन्न हुनु, उच्च शैक्षिक उपाधि हासिल गर्नु, उच्च पदमा पुग्नु वा काममा निपूर्ण हुनुमा सीमित छैन वरु यसको लागि सुद्रिढ (आत्म विश्वास युक्त) हुनु, अरुको सुख दु:खमा खुला मनले सरीक हुनु र अरुको जीवनलाई सकारात्मक किसिमबाट प्रभावित गर्न र उनीहरूको मनमा बस्न बस्न सक्ने हुनु जरुरी छ । 

Wednesday, September 2, 2020

भारतमा अध्ययन भ्रमणमा जांदाको रमाइलो अनुभ

 सन १९८१ को अन्त्य तिर (२०३८ मंसीर ) मा लेखापरीक्षण अधिकारी  हुँदा कोलम्बो प्लान अन्तरगत २२ हप्ता लामो सामाजिक सेवा संस्थाहरूको लेखापरीक्षण बिषयमा प्रशिक्षण कार्यक्रममा भारत जाने अवसर मिल्यो । सीमानाको बजार नौतनवा, जयनगर र सीतामढी भन्दा पर नगएको मानिसलाई पहिलो पटक तालीमका लागि दिल्ली जान पाउंदा मन खुशी नै थियो । बेलायत पठाउनु पर्नेमा भारत पठाएर तिमीलाई टारे भनेर केही हितैशीले भने पनि महालेखा परीक्षक कार्यालयमा सेवा प्रवेश गरेको चार बर्ष नपुग्दै मनोनयन भएकोमा म खुशी थिएं । साथमा उमेरमा १० बर्ष जेठा साथी श्री हरि बहादुर खड्का राजस्वको लेखापरीक्षण बिषयमा २४ हप्ताको प्रशिक्षण कार्यक्रममा जांदै हुनुहुन्थ्यो । रमाईलै हुने आशा लिएर गयौं । म उहांलाई काजी साहेब र उहांले मलाई गुरु भन्नु हुन्थ्यो ।  तालीमको व्यवस्थापन भारतको नियन्त्रक तथा महालेखा परीक्षकको कार्यालय (Office of the Comptroller and Auditor General – CAG) बाट हुन्थ्यो । हामीलाई रामनगर नयां दिल्लीको होटेल टुरिस्टमा वस्ने व्यवस्था गरिएको थियो । भोलीपल्ट टेम्पोबाट बहादुर शाह जफर मार्गमा रहेको कार्यालयमा गयौं । सर्वप्रथम हाम्रा प्रमुख सम्पर्क अधिकारी अन्तरराष्ट्रिय सम्बन्ध, अनुसन्धान र प्रशिक्षण बिभागका निर्देशक श्री रमेश सुरीलाई भेट्यौं । अभिमुखीकरणको क्रममा वरिश्ठ अधिकारीहरूले कार्यालयको संगठन र कार्यपद्धति बारे जानकारी दिनु भयो । उत्तर भारत तर्फका अधिकारीले हिन्दीमा र दक्षिणकाले अंग्रेजीमा कुरा गर्नु हुन्थ्यो । सुब्रमन्यम थर भएका एक जना छिटो अंग्रेजी बोलेको सुनेर काजी साहेबले यिनले मकै भुटेको कि अंग्रेजी बोलेको भनेको सम्झंदा अहिले पनि रमाइलो लाग्छ । CAG Office र विश्वविद्यालय अनुदान आयोग (University Grant Commission – UGC) को कार्यालय आमने सामने थिए । त्यस आयोगमा काजी साहेबका गाउँका बोहरा थरका व्यक्तिले काम गर्दा रहेछन् । उहांलाई काजी साहेबले जस्तै मैले पनि काका भनें । कामको सिलसिलामा म त्यस आयोगका अर्थ विभागका प्रमुख श्री जगदीश तायल कहां जानु पर्ने भयो । भेटको सिलसिलामा उनले स्वर्गीय परशु नारायण चौधरी र तेज बहादुर प्रसाइ सहपाठी भएको बताउंदै उहांहरूको बिषयमा सोधे । मैले बताए पछि परशु नारायण राजनीतिमा लागेर ठूलो मानिस बनेको सम्म सुनेको थिएं भने । संयोगले बोहरा काका त उनकै लागि तोकिएका कार्यालय सहयोगी रहेछन् । उनले चिया ल्याउन पठाए मेरो अगाडि पदको भेद खुलेकाले अपमान भएको महसुस गरेर म विदा भए पछि बाहिर पुगे पछि आएर त्यो मानिस कसको अगाडि कसरी व्यवहार गर्नु पर्छ नजान्ने बेसोमति भएको टिप्पणी  गरे ।  शनिबारको दिन गाउँका अर्का अग्रजले बोलाएको भनेर बोहरा काका हामीलाई लिन आए । नेपालीसँग भेट हुँदा रमाईलै भयो । बोहरा हामीलाई होटेल सम्म पुर्याउन आएका थिए । कन्नाट प्यालेस आएपछि काजी साहेबले सिनेमा हेरौं भन्नु भयो । ओडिएन हलमा भर्खरै रिलिज भएको जीतेन्द्र र हेमा मालिनी अभिनीत मेरी आवाज सुनो भन्ने फिल्म लागेको रहेछ । टिकट नपाईए पछि काजी साहेबले ब्ल्याकमा भए पनि लिउं भने पछि बोहराजीले टिकट लिएर आए । फिल्म हेर्न सिटमा बसे पछि अरु पो हाम्रो सिटमा बस्न आए । पछि हाम्रो टिकट हेर्दा ब्ल्याक वालाले अघिल्लो शो को टिकट भिडाएको रहेछ । दुई पटक ब्ल्याकमा टिकट किनेर त्यो फिल्म हेरियो । एक हप्ता दिल्ली बसे पछि हामी बम्बइ जाने भयौं । हामी जाने दिन बोहराजीले हामीलाई एक नम्बर दिंदै भने बम्बै पुगेर एयरपोर्टबाट यो नम्बरमा बम्बै विश्वविद्यालयको भी. सी. लाई फोन गरेर UGC को बोहराले भनेको भन्नु उनले मोटर पठाइ दिन्छन भने । विश्वविद्यालयको गेस्ट हाउसमा बस्नु, कुनै फिक्री लिनु पर्दैन । हामीलाई UGC को कार्यालय सहयोगीको यति शक्ति होला भन्ने त लागेन तर उनको चित्त बुझाई दिन हस काका भनेर धन्यवाद दिइ बिदा भयौं ।


हामीलाई बम्बै विमानस्थलमा Director General Central Revenue (DGCR) का कर्मचारी लिन आएका थिए । DG कृष्णकुट्टी र Director गोपालस्वामीसँग शिश्टाचार भेट भए पछि त्यही कार्यालयको माथिल्लो तलामा रहेको एक कोठामा हाम्रो बस्ने व्यवस्था गरियो । बस्ने ठाउँ अति सामान्य थियो । त्यसबेला हामीलाई कोलम्बो प्लानबाट मासिक भा रु १,०००/-  मात्र प्राप्त हुन्थ्यो । बाहिर होटेल मा बस्न पाउने रकमले नपुग्ने हुँदा निशुल्क बस्न पाएको ठाउँ चित्त बुझाउनुको विकल्प थिएन । त्यहांको खाना हाम्रो लागि उपयुक्त नभएर एक हप्ता जति फलफुल मात्र खाएर बस्नु पर्‍यो । मेरो काम Accountant General, Maharastra सँग सम्बन्धीत हुनाले हरेक दिन बसबाट मेरिनलाइन्स जान्थें । त्यहां Senior Deputy Accountant General रोशिला साइवाइ मेरो संपर्क अधिकारी थिए । उनको लागि तोकिएका   कार्यालय सहयोगी उनीसंगै लोकसेवा आयोगको परीक्षा दिएर असफल भएका रहेछन । साइवाइले उनलाई आदरपूर्वक व्यवहार गरेको मैले देखें । म उनी कहां कामको सिलसिलामा जाँदा कार्यालय सहयोगीलाई घण्टी हानेर नबोलाई आफै उठेर ढोका बाहिर गएर बोलाएर ल्याउंथे र चिया ल्याउ नभनि मलाई देखाएर  We have a guest from Nepal. You know how should we welcome him भन्ने गर्थे र  उनले OK भन्दै चिया बिस्कुट ल्याउंथे । उनको यो शैली मलाई मन पर्‍यो । काजी साहेबको संपर्कमा रहेका कर अधिक्रित अनिल शर्माले फिल्मको शुटिङ हेर्ने प्रवन्ध गरि दिएकाले फिल्मालय स्टुडियो अन्धेरी बम्बै गयौं । स्टुडियोका प्रवन्धक मनु मुखर्जीले आफन्तहरू विराटनगरमा रहेको बताएका थिए । त्यसदिन रेखा र जीतेन्द्रले अभिनय गर्ने फिल्म लकेटको शुटिङ हुने भनिए पनि उनीहरू आएनन । तर श्रीराम लागू र कादर खानलाई देख्न पाइयो । कादर खानसँग सामान्य कुराकानी भयो ।  त्यस अतिरिक कंवलजीत अभिनित एक फिल्मको सम्पादन गरेको पनि देख्न पाइयो । बम्बैमा Performance Auditing बिषयको एक हप्ते तालीममा अन्य प्रदेशहरूबाट आएका अधिकारीहरूसँग भेटघाट र छलफल गर्ने र सामाजिक बिषयमा जान्ने अवसर मिल्यो । एक दिन तुम्हारे बिना भन्ने फिल्मको प्रेमियर शो हेर्ने र त्यसका मुख्य कलाकार सुरेश ओबेराय र स्वरुप सम्पतसँग कुराकानी गर्ने अवसर मिल्यो । बम्बैबाट काजी साहेब र म अलग भयौं । उहां तामिलनाडु र पश्चिम बंगाल तर्फ लाग्नु भयो ।

बम्बैको पाँच हप्ताको बसाइ पछि दिल्ली आएर अर्को दिन चन्डीगढ गएं । त्यहां छ हप्ताको कार्यक्रम थियो । Accountant General, Punjab को कार्यालय चन्डीगढमा यसको कार्यक्षेत्र चन्डीगढ बाहिर हुनाले मलाई पन्जाब प्रान्तका प्राय: जसो जिल्लाहरूमा कामको सिलसिलामा जाने अवसर मिल्यो । जे. एस. ग्रेवाल नामका लेखा अधिक्रितलाई पुरै अवधि मसंगै रहने गरि खटाइएकाले धेरै सजिलो भयो । पन्जाबी संस्क्रिति बारे जानकारी पाउने अवसर मिल्यो । धेरैबाट माया सद्भाव पाएं । चण्डीगढ नगरको बिकास देखेर मन लोभियो । पंजाबीहरू खुला दिलका र रसिक स्वभावको भएको अनुभव गरें । पंजाबमा हुँदा लामो विदा परेको समयमा शिमला घुम्न गएको थिएं । त्यहां बस्दाको एकदमै सुखद र अविस्मरणीय अनुभव भएको थियो । त्यसबारे अलगै चर्चा गर्नेछु । अमृतसरमा स्वर्ण मन्दिर र दुर्गा मन्दिरको दर्शन गर्ने र जलियांवाला बाग हेर्ने अवसर मिल्यो ।  

पंजाब को छ हप्ता लामो अध्ययन र बसाइको सुखद सम्झना लिएर दिल्ली आएं । १० हप्ता लामो बसाइ मा निकै कार्यालयहरूको अध्ययन गर्ने अवसर मिल्यो । अखिल भारतीय आयुर्विज्ञान संस्था (All India Institute of Medical Sciences – AIIMS) मा कार्यक्रमको सिलसिलामा जाँदा जिज्यु मुमा बडामहारानी इश्वरी राज्य लक्ष्मी शाहलाई उपचारार्थ ल्याइएको थाहा त्यहांका लेखा प्रमुख पी सी चक्रवर्तीबाट जानकारी पाएं । उनले भने अनुसार भारत सरकारलाई जानकारी नदिइ संस्थानमा भर्ना गरिएको तर पछि भारत सरकार का अधिकारीलाई जानकारी भए पछि भारत सरकारले उपचार खर्च व्यहोर्ने कुरा भई राखिएको धरौटी फिर्ता दिनु भन्ने आदेश प्राप्त भएको मलाई जानकारी दिएका थिए । उपचारको लागि राजा बीरेन्द्रको पनि सवारी भएको उनले बताए पछि म भेट्न गएको थिएं । तर राजा होटेल फिर्ती सवारी भई सकेको भनि आइ. सी. यु. बाहिर रहेका नेपाली सेनाका अधिकारीले भने पछि साँझ दुताबास गएको थिएं । तर यो कुरालाई प्रचारमा नल्याउनु भनेको भएर होला थप जानकारी पाउन सकिन । लेखा प्रमुखले धरौटी फिर्ता लिन नचाहेको जानकारी दिएका थिए । दिल्ली बसाइको क्रममा मेरो संपर्क कार्यालय Director of Audit Central Region भएकाले त्यहां गई रहनु पर्थ्यो । त्यहांका प्रशासन अधिकारी राजाराम मलाई सज्जन नै लाग्थे । तर उनका  सहकर्मीहरू उनलाई वो तो SC (Scheduled Caste) है आरक्षणबाट अधिक्रित भएको भनेर अलि खस्काउने कुरा गर्थे । त्यो मलाई मन परेन । के SC परिवारमा जन्मदैमा खस्काइनु पर्छ र भन्ने लाग्थ्यो । प्रसिद्ध कत्थक नर्तकी शोभना नारायण र पूर्व राश्ट्रपति बी बी गिरी कि नातिनी विजया लक्ष्मी त्यहां सहायक निर्देशक भएकोले उनीहरूसँग भेट गराएका थिए । मुख्य कार्यालय कि अधिकारी नागराजनले बडो माया गर्नु हुन्थ्यो । म तिम्रो दिदी सरह हो भन्नु हुन्थ्यो । उहांले कोठाको झ्यालबाट म आउंदै गरेको देखे पछि क्यान्टीनबाट मिठाइ ल्याउन पठाएर राख्नु हुँदो रहेछ र आऊना साथ मिठाइ र गिलासमा पानी दिनु हुन्थ्यो । त्यस्तो आत्मीयता सहजै कहां पाउनु र ? कहिले कांही नेपाली दुताबास जाँदा पनि राम्रै व्यवहार पाएको थिएं ।

भारतीयहरूमा नेपालको सम्बन्धमा तीन किसिमका दृष्‍टिकोण रहेको महसुस गरें ।

 (क)     नेपाल एक पवित्र भुमि हो । यस्तो सोच राख्नेहरूमा नेपाल को पवित्र तीर्थस्थल हरू र हिन्दूत्व बाहेक अरु कुनै राजनीतिक चासो थिएन ।

(ख)     नेपाल हाम्रो छेउको सानो देश हो । यसको रक्षा हामीले गर्नु पर्छ र नेपालले भारतको कुरा सुन्नु पर्छ ।

(ग)      नेपाल एक स्वतन्त्र देश हो । सानो भएर के भयो र यसले आफ्ना नीति कार्यक्रम स्वतन्त्र रुपमा तय गर्न पाउनु पर्छ । भारतको अहित हुने कुरामा बाहेक अरुमा बोल्नु हुँदैन ।

भारत काम गर्ने नेपाली दाजु भाईलाई तिमीहरूको देशमै काम नगरेर किन आएको भनेर प्रश्न गर्दा उहां हरूले दिने जवाफको कारण नेपाल एकदम अविकसित र जीवन धान्न निकै कठीन देश रहेछ भन्ने छाप पनि भारतीयमा परेको अनुभव भयो ।

भारत बसाइका अरु रमाइला प्रसँग पनि छन । कुनै बेला संस्मरण लेखियो भने विस्त्रितमा चर्चा गरौंला । समग्रमा भन्नु पर्दा २२ हप्ताको प्रशिक्षण अध्ययन भ्रमण सांच्चै नै चिरस्मरणीय रह्यो ।