सन १९८१ को अन्त्य तिर (२०३८
मंसीर ) मा लेखापरीक्षण अधिकारी हुँदा कोलम्बो
प्लान अन्तरगत २२ हप्ता लामो सामाजिक सेवा संस्थाहरूको लेखापरीक्षण बिषयमा प्रशिक्षण
कार्यक्रममा भारत जाने अवसर मिल्यो । सीमानाको बजार नौतनवा, जयनगर र सीतामढी भन्दा
पर नगएको मानिसलाई पहिलो पटक तालीमका लागि दिल्ली जान पाउंदा मन खुशी नै थियो । बेलायत
पठाउनु पर्नेमा भारत पठाएर तिमीलाई टारे भनेर केही हितैशीले भने पनि महालेखा परीक्षक
कार्यालयमा सेवा प्रवेश गरेको चार बर्ष नपुग्दै मनोनयन भएकोमा म खुशी थिएं । साथमा
उमेरमा १० बर्ष जेठा साथी श्री हरि बहादुर खड्का राजस्वको लेखापरीक्षण बिषयमा २४ हप्ताको
प्रशिक्षण कार्यक्रममा जांदै हुनुहुन्थ्यो । रमाईलै हुने आशा लिएर गयौं । म उहांलाई
काजी साहेब र उहांले मलाई गुरु भन्नु हुन्थ्यो । तालीमको व्यवस्थापन भारतको नियन्त्रक तथा महालेखा
परीक्षकको कार्यालय (Office of the Comptroller and Auditor General – CAG) बाट हुन्थ्यो
। हामीलाई रामनगर नयां दिल्लीको होटेल टुरिस्टमा वस्ने व्यवस्था गरिएको थियो । भोलीपल्ट
टेम्पोबाट बहादुर शाह जफर मार्गमा रहेको कार्यालयमा गयौं । सर्वप्रथम हाम्रा प्रमुख
सम्पर्क अधिकारी अन्तरराष्ट्रिय सम्बन्ध, अनुसन्धान र प्रशिक्षण बिभागका निर्देशक श्री
रमेश सुरीलाई भेट्यौं । अभिमुखीकरणको क्रममा वरिश्ठ अधिकारीहरूले कार्यालयको संगठन
र कार्यपद्धति बारे जानकारी दिनु भयो । उत्तर भारत तर्फका अधिकारीले हिन्दीमा र दक्षिणकाले
अंग्रेजीमा कुरा गर्नु हुन्थ्यो । सुब्रमन्यम थर भएका एक जना छिटो अंग्रेजी बोलेको
सुनेर काजी साहेबले यिनले मकै भुटेको कि अंग्रेजी बोलेको भनेको सम्झंदा अहिले पनि रमाइलो
लाग्छ । CAG Office र विश्वविद्यालय अनुदान आयोग (University Grant Commission –
UGC) को कार्यालय आमने सामने थिए । त्यस आयोगमा काजी साहेबका गाउँका बोहरा थरका व्यक्तिले
काम गर्दा रहेछन् । उहांलाई काजी साहेबले जस्तै मैले पनि काका भनें । कामको सिलसिलामा
म त्यस आयोगका अर्थ विभागका प्रमुख श्री जगदीश तायल कहां जानु पर्ने भयो । भेटको सिलसिलामा
उनले स्वर्गीय परशु नारायण चौधरी र तेज बहादुर प्रसाइ सहपाठी भएको बताउंदै उहांहरूको
बिषयमा सोधे । मैले बताए पछि परशु नारायण राजनीतिमा लागेर ठूलो मानिस बनेको सम्म सुनेको
थिएं भने । संयोगले बोहरा काका त उनकै लागि तोकिएका कार्यालय सहयोगी रहेछन् । उनले
चिया ल्याउन पठाए मेरो अगाडि पदको भेद खुलेकाले अपमान भएको महसुस गरेर म विदा भए पछि
बाहिर पुगे पछि आएर त्यो मानिस कसको अगाडि कसरी व्यवहार गर्नु पर्छ नजान्ने बेसोमति
भएको टिप्पणी गरे । शनिबारको दिन गाउँका अर्का अग्रजले बोलाएको भनेर
बोहरा काका हामीलाई लिन आए । नेपालीसँग भेट हुँदा रमाईलै भयो । बोहरा हामीलाई होटेल
सम्म पुर्याउन आएका थिए । कन्नाट प्यालेस आएपछि काजी साहेबले सिनेमा हेरौं भन्नु भयो
। ओडिएन हलमा भर्खरै रिलिज भएको जीतेन्द्र र हेमा मालिनी अभिनीत मेरी आवाज सुनो भन्ने
फिल्म लागेको रहेछ । टिकट नपाईए पछि काजी साहेबले ब्ल्याकमा भए पनि लिउं भने पछि बोहराजीले
टिकट लिएर आए । फिल्म हेर्न सिटमा बसे पछि अरु पो हाम्रो सिटमा बस्न आए । पछि हाम्रो
टिकट हेर्दा ब्ल्याक वालाले अघिल्लो शो को टिकट भिडाएको रहेछ । दुई पटक ब्ल्याकमा टिकट
किनेर त्यो फिल्म हेरियो । एक हप्ता दिल्ली बसे पछि हामी बम्बइ जाने भयौं । हामी जाने
दिन बोहराजीले हामीलाई एक नम्बर दिंदै भने बम्बै पुगेर एयरपोर्टबाट यो नम्बरमा बम्बै
विश्वविद्यालयको भी. सी. लाई फोन गरेर UGC को बोहराले भनेको भन्नु उनले मोटर पठाइ दिन्छन
भने । विश्वविद्यालयको गेस्ट हाउसमा बस्नु, कुनै फिक्री लिनु पर्दैन । हामीलाई UGC
को कार्यालय सहयोगीको यति शक्ति होला भन्ने त लागेन तर उनको चित्त बुझाई दिन हस काका
भनेर धन्यवाद दिइ बिदा भयौं ।
हामीलाई बम्बै विमानस्थलमा Director
General Central Revenue (DGCR) का कर्मचारी लिन आएका थिए । DG कृष्णकुट्टी र Director
गोपालस्वामीसँग शिश्टाचार भेट भए पछि त्यही कार्यालयको माथिल्लो तलामा रहेको एक कोठामा
हाम्रो बस्ने व्यवस्था गरियो । बस्ने ठाउँ अति सामान्य थियो । त्यसबेला हामीलाई कोलम्बो
प्लानबाट मासिक भा रु १,०००/- मात्र प्राप्त
हुन्थ्यो । बाहिर होटेल मा बस्न पाउने रकमले नपुग्ने हुँदा निशुल्क बस्न पाएको ठाउँ
चित्त बुझाउनुको विकल्प थिएन । त्यहांको खाना हाम्रो लागि उपयुक्त नभएर एक हप्ता जति
फलफुल मात्र खाएर बस्नु पर्यो । मेरो काम Accountant General, Maharastra सँग सम्बन्धीत
हुनाले हरेक दिन बसबाट मेरिनलाइन्स जान्थें । त्यहां Senior Deputy Accountant
General रोशिला साइवाइ मेरो संपर्क अधिकारी थिए । उनको लागि तोकिएका कार्यालय
सहयोगी उनीसंगै लोकसेवा आयोगको परीक्षा दिएर असफल भएका रहेछन । साइवाइले उनलाई आदरपूर्वक
व्यवहार गरेको मैले देखें । म उनी कहां कामको सिलसिलामा जाँदा कार्यालय सहयोगीलाई घण्टी
हानेर नबोलाई आफै उठेर ढोका बाहिर गएर बोलाएर ल्याउंथे र चिया ल्याउ नभनि मलाई देखाएर
We have a guest from Nepal. You know how
should we welcome him भन्ने गर्थे र उनले
OK भन्दै चिया बिस्कुट ल्याउंथे । उनको यो शैली मलाई मन पर्यो । काजी साहेबको संपर्कमा
रहेका कर अधिक्रित अनिल शर्माले फिल्मको शुटिङ हेर्ने प्रवन्ध गरि दिएकाले फिल्मालय
स्टुडियो अन्धेरी बम्बै गयौं । स्टुडियोका प्रवन्धक मनु मुखर्जीले आफन्तहरू विराटनगरमा
रहेको बताएका थिए । त्यसदिन रेखा र जीतेन्द्रले अभिनय गर्ने फिल्म लकेटको शुटिङ हुने
भनिए पनि उनीहरू आएनन । तर श्रीराम लागू र कादर खानलाई देख्न पाइयो । कादर खानसँग सामान्य
कुराकानी भयो । त्यस अतिरिक कंवलजीत अभिनित
एक फिल्मको सम्पादन गरेको पनि देख्न पाइयो । बम्बैमा Performance Auditing बिषयको एक
हप्ते तालीममा अन्य प्रदेशहरूबाट आएका अधिकारीहरूसँग भेटघाट र छलफल गर्ने र सामाजिक
बिषयमा जान्ने अवसर मिल्यो । एक दिन तुम्हारे बिना भन्ने फिल्मको प्रेमियर शो हेर्ने
र त्यसका मुख्य कलाकार सुरेश ओबेराय र स्वरुप सम्पतसँग कुराकानी गर्ने अवसर मिल्यो
। बम्बैबाट काजी साहेब र म अलग भयौं । उहां तामिलनाडु र पश्चिम बंगाल तर्फ लाग्नु भयो
।
बम्बैको पाँच हप्ताको बसाइ पछि
दिल्ली आएर अर्को दिन चन्डीगढ गएं । त्यहां छ हप्ताको कार्यक्रम थियो । Accountant
General, Punjab को कार्यालय चन्डीगढमा यसको कार्यक्षेत्र चन्डीगढ बाहिर हुनाले मलाई
पन्जाब प्रान्तका प्राय: जसो जिल्लाहरूमा कामको सिलसिलामा जाने अवसर मिल्यो । जे. एस.
ग्रेवाल नामका लेखा अधिक्रितलाई पुरै अवधि मसंगै रहने गरि खटाइएकाले धेरै सजिलो भयो
। पन्जाबी संस्क्रिति बारे जानकारी पाउने अवसर मिल्यो । धेरैबाट माया सद्भाव पाएं ।
चण्डीगढ नगरको बिकास देखेर मन लोभियो । पंजाबीहरू खुला दिलका र रसिक स्वभावको भएको
अनुभव गरें । पंजाबमा हुँदा लामो विदा परेको समयमा शिमला घुम्न गएको थिएं । त्यहां
बस्दाको एकदमै सुखद र अविस्मरणीय अनुभव भएको थियो । त्यसबारे अलगै चर्चा गर्नेछु ।
अमृतसरमा स्वर्ण मन्दिर र दुर्गा मन्दिरको दर्शन गर्ने र जलियांवाला बाग हेर्ने अवसर
मिल्यो ।
पंजाब को छ हप्ता लामो अध्ययन
र बसाइको सुखद सम्झना लिएर दिल्ली आएं । १० हप्ता लामो बसाइ मा निकै कार्यालयहरूको
अध्ययन गर्ने अवसर मिल्यो । अखिल भारतीय आयुर्विज्ञान संस्था (All India Institute
of Medical Sciences – AIIMS) मा कार्यक्रमको सिलसिलामा जाँदा जिज्यु मुमा बडामहारानी
इश्वरी राज्य लक्ष्मी शाहलाई उपचारार्थ ल्याइएको थाहा त्यहांका लेखा प्रमुख पी सी चक्रवर्तीबाट
जानकारी पाएं । उनले भने अनुसार भारत सरकारलाई जानकारी नदिइ संस्थानमा भर्ना गरिएको
तर पछि भारत सरकार का अधिकारीलाई जानकारी भए पछि भारत सरकारले उपचार खर्च व्यहोर्ने
कुरा भई राखिएको धरौटी फिर्ता दिनु भन्ने आदेश प्राप्त भएको मलाई जानकारी दिएका थिए
। उपचारको लागि राजा बीरेन्द्रको पनि सवारी भएको उनले बताए पछि म भेट्न गएको थिएं ।
तर राजा होटेल फिर्ती सवारी भई सकेको भनि आइ. सी. यु. बाहिर रहेका नेपाली सेनाका अधिकारीले
भने पछि साँझ दुताबास गएको थिएं । तर यो कुरालाई प्रचारमा नल्याउनु भनेको भएर होला
थप जानकारी पाउन सकिन । लेखा प्रमुखले धरौटी फिर्ता लिन नचाहेको जानकारी दिएका थिए
। दिल्ली बसाइको क्रममा मेरो संपर्क कार्यालय Director of Audit Central Region भएकाले
त्यहां गई रहनु पर्थ्यो । त्यहांका प्रशासन अधिकारी राजाराम मलाई सज्जन नै लाग्थे ।
तर उनका सहकर्मीहरू उनलाई वो तो SC
(Scheduled Caste) है आरक्षणबाट अधिक्रित भएको भनेर अलि खस्काउने कुरा गर्थे । त्यो
मलाई मन परेन । के SC परिवारमा जन्मदैमा खस्काइनु पर्छ र भन्ने लाग्थ्यो । प्रसिद्ध
कत्थक नर्तकी शोभना नारायण र पूर्व राश्ट्रपति बी बी गिरी कि नातिनी विजया लक्ष्मी
त्यहां सहायक निर्देशक भएकोले उनीहरूसँग भेट गराएका थिए । मुख्य कार्यालय कि अधिकारी
नागराजनले बडो माया गर्नु हुन्थ्यो । म तिम्रो दिदी सरह हो भन्नु हुन्थ्यो । उहांले
कोठाको झ्यालबाट म आउंदै गरेको देखे पछि क्यान्टीनबाट मिठाइ ल्याउन पठाएर राख्नु हुँदो
रहेछ र आऊना साथ मिठाइ र गिलासमा पानी दिनु हुन्थ्यो । त्यस्तो आत्मीयता सहजै कहां
पाउनु र ? कहिले कांही नेपाली दुताबास जाँदा पनि राम्रै व्यवहार पाएको थिएं ।
भारतीयहरूमा नेपालको सम्बन्धमा
तीन किसिमका दृष्टिकोण रहेको महसुस गरें ।
(क) नेपाल
एक पवित्र भुमि हो । यस्तो सोच राख्नेहरूमा नेपाल को पवित्र तीर्थस्थल हरू र हिन्दूत्व
बाहेक अरु कुनै राजनीतिक चासो थिएन ।
(ख) नेपाल हाम्रो छेउको सानो देश हो । यसको रक्षा हामीले गर्नु पर्छ र नेपालले
भारतको कुरा सुन्नु पर्छ ।
(ग) नेपाल एक स्वतन्त्र देश हो । सानो भएर के भयो र यसले आफ्ना नीति कार्यक्रम
स्वतन्त्र रुपमा तय गर्न पाउनु पर्छ । भारतको अहित हुने कुरामा बाहेक अरुमा बोल्नु
हुँदैन ।
भारत काम गर्ने नेपाली दाजु भाईलाई
तिमीहरूको देशमै काम नगरेर किन आएको भनेर प्रश्न गर्दा उहां हरूले दिने जवाफको कारण
नेपाल एकदम अविकसित र जीवन धान्न निकै कठीन देश रहेछ भन्ने छाप पनि भारतीयमा परेको
अनुभव भयो ।
भारत
बसाइका अरु रमाइला प्रसँग पनि छन । कुनै बेला संस्मरण लेखियो भने विस्त्रितमा चर्चा
गरौंला । समग्रमा भन्नु पर्दा २२ हप्ताको प्रशिक्षण अध्ययन भ्रमण सांच्चै नै चिरस्मरणीय
रह्यो ।